जेष्ठ ७ काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाण २७ वैशाखमा पक्राउ परेपछि सहमहामन्त्री यादव चैनमा बस्न सकेका छैनन् । पूर्व गृहमन्त्री खाणका विश्वासपात्र यादव उनको प्रतिरक्षाका लागि दिलोज्यान दिएर लागेका छन् । यादव पार्टी भित्र र बाहिर खाणको बचाउमा उनी खरो रूपमा उत्रिएका छन् । यादवले भन्दै अाइ रहेका छन् ‘बालकृष्ण दाइ निर्दोष हुनु हुन्छ । उहाँलाई फसाउन खोजिँदै छ भनेर मैले पार्टीका नेताहरूलाई जानकारी गराउने काम गरेको हुँ ।
तरुण दल र नेविसंघ दुवैका अध्यक्ष भइसकेका खाणको पार्टीमा देशभर सञ्जाल छ । यादवको योजनाअनुसार खाण निकट नेताहरू पार्टीभित्रका नेतामाथि दबाब बढाउन परिचालन भइरहेका छन् । सहमहामन्त्री यादव आफै पार्टीका सबै जसो शीर्ष नेताको निवासमै पुगेर खाणको पक्षमा उभिदिन आग्रह गरिरहेका छन् ।
एकजना प्रहरी अधिकृतका अनुसार यादवले जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका खाणलाई नियमित भेटिरहेका हुन्छन् । सह–महामन्त्री यादवमार्फत खाणले आफ्नो पक्षमा कार्यकर्ता ‘मुभ’ गराउन खोजेको देखिन्छ । यादवले पार्टीको पदाधिकारी बैठक र मिडियामा खाणको खुलेर बचाउ गरिरहेका छन् । कांग्रेसमा खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा मतभेद हुँदा यादव खाणको पक्षमा दह्रो ढङ्गले उभिएका थिए ।