काठमाडौं । रुसले कब्जा गरेको भूमि फिर्ता ल्याउन युक्रेनले महिनौँदेखि प्रतिआक्रमण (काउन्टर अफेन्सिभ)को तयारी गरिरहेको छ । यसै समयमा रुसले करिब एक हजार किलोमिटर लामो क्षेत्रमा आफ्नो अग्रपंक्ति (फ्रन्टलाइन) बलियो बनाएको छ । फाइनान्सियल टाइम्सले समीक्षा गरेको र सैन्य विज्ञहरूले विश्लेषण गरेको भूउपग्रहबाट लिइएका तस्बिरले रुसले बहुस्तरीय रक्षा नेटर्वक निर्माण गरेको देखाएको छ । लडाइँका ट्यांक फस्ने एन्टी–ट्यांक खाडल, खाडलको भुलभुलैया, ट्यांक एवं सेनाको आगमनमा बाधा पार्ने कंक्रिटको ‘ड्रागन टिथ’ छेकवार, स्टिलको ‘हेजहग’ अवरोध, रेजर तारको बार र जमिनमुनि गाढेका विस्फोटक ल्यान्डमाइनसहितका रक्षा रेखा र घेरा रुसले बनाएको छ ।