लोकतान्त्रिक आदिवासी जनजाती महासंघको आयोजनामा जननेता क. मदन भण्डारीको ७२ औं जन्म–जयन्तीको अवसर पारेर बृहत बिचार गोष्ठी पाटी कार्यालयख च्यसलको तुलसीलाल स्मृति भवनमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष क. सुवास नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा पार्टीका कार्यवाहक महासचिब क. प्रदीप ज्ञवालीले “जनताको वहुदलीय जनवाद र राज्यको रुपान्तरण“ तथा महासंघका ईन्चार्ज क. गोकुल घर्तीमगरले “नेपाली कम्युनिष्ट आन्दोलन र आदिवासी जनजाति आन्दोलन बीचको अन्तर–सम्बन्ध“ विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रहरु उपर त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र संकायका प्राध्यापक एवं आदिवासी जनजाति अभियन्ता डा. मुक्ता सिङ लामा तामाङले टिप्पणी गर्नु भएको थियो ।
प्रमुख अतिथि क. सुवास नेम्बाङले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको यो अन्तरकृयाले सिंगो आदिवासी जनजाति आन्दोलनलाई धारिलो बनाउन सहयोग पुग्ने बिचार व्यक्त गर्नुभएको थियो । वहाँले “आदिवासी जनजाति अधिकारको सवालमा आजसम्म जे जति उपलब्धिहरु हासिल भएका छन्, ती सबै उपलब्धिहरुमा नेकपा (एमाले) को मुख्य योगदान रहेको छ । हामीले यो यथार्थवारे आदिवासी जनजातिहरुलाई भन्न र बुझाउन नसक्दा अहिले पहिचानको नाममा एमाले माथि प्रहार गर्ने काम भइरहेको छ” भनी आफ्नो धारणा राख्नु भएको थियो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं केन्द्रीय जनसंगठन समन्वय संयन्त्रका प्रमुख क. भानुभक्त ढकाल समेतको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम महासंघका अध्यक्ष क. पासाङ सेर्पाको अध्यक्षतामा महासचिब क. पेम्बा गुरुङ भोटेको उद्घोषणमा सम्पन्न भएको कुरा महासंघका प्रचार विभाग प्रमुख क. देवराज राईले जानकारी दिनु भयो ।