प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको नाममा पत्रकार महासंघलाई भ्रष्टीकरण तर्फ लगेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकार सुद्धिकरण अभियान अन्तर्गत जिल्ला शाखाको सिफारिसमा महासंघका प्रदेशले पठाएका नाम सूची प्रेस चौतारी नेपाललाई कुनै पनि हालतमा स्वीकार्य नहुने बस्नेतले स्पष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण अभियान राम्रो नियतका साथ उठान गरिएको भए पनि सत्ता गठबन्धनमा आबद्ध पत्रकारका संगठनको नेतृत्वले शुद्धीकरणका नाममा पत्रकारिता क्षेत्रकै हुर्मत लिने काम गरेको बस्नेतले बताउनुभयो ।
शुद्धीकरणको प्रस्तावक आफैँले गरेको बताउँदै बस्नेतले वर्तमान पत्रकार महासंघको नेतृत्वले पत्रकार महासंघलाई पत्रकारको होइन गैर पत्रकारको संस्था मात्र बनाउन खोजेको बताउनुभयो । ‘सुद्धिकरण गर्नुपर्छ भन्ने कुरामा हामी सबै संगठन सहमत भयौँ, २०७९ पुसको पहिलो साता सुर्खेतमा सम्पन्न साधारण सभाले विधान सरह मान्ने गरी महासचिवको नेतृत्वमा सुद्धिकरण समिति बनायो, शुद्धीकरणका लागि पत्रकार महासंघले १५ बुँदे मापदण्ड बनाएर जिल्ला र प्रदेशमा पठायो, तर प्रदेश समितिबाट निर्णय भएर आएको भन्दै महासंघ केन्द्रले आज सार्वजनिक गरेको नाम हेर्दा त सुद्धिकरण होइन, भ्रष्टिकरण पो भएछ’, बस्नेतले भन्नुभयो ।
महासंघले बनाएको १५ बुँदे मापदण्ड कुनै पनि लागु नभएको बस्नेतको भनाइ छ । ‘महासंघले जारी गरेको १५ बुँदे मापदण्डबाहेक सबै मापदण्ड लागू भएछ’,उहाँले भन्नुभयो ।
महसांघमा पत्रकारिता बाहेक सबै पेसा व्यवसाय गर्नेहरू अटाउने गरी सदस्यता सुद्धिकरण भएको उहाँले टिप्पणी गर्नुभयो । ‘ पत्रकारिताबाहेक सबै पेसा व्यवसाय गर्नेहरू अटाउने, पत्रकारिताबाहेक केही नगर्नेहरू चाहिँ हटाउने कुरा किमार्थ स्वीकार्य छैन, अब कि १५ बुँदे मापदण्ड जस्ताको तस्तै लागू हुन्छ, कि सदस्यता शुद्धीकरणको कुरा सम्झने पानी छम्कने हुन्छ’, उहाँले भन्नुभयो ।
सनराज खबरबाट साभार