महेन्द्रनगर : महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले बन्द भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको यो पुल सरकारको प्राथमिकतामा पर्न नसक्दा पुल निमार्णको काम बन्द भएको हो
सरकारले पुल निमार्णका लागि आवश्यक बजेट विनियोजन नगर्दा पुल निर्माण कम्पनीले काम गरेको पैसा समेत पाउन सकेको छैन । पुल निमार्ण कम्पनीको गत आर्थिक वर्षकै ८ करोड रकम पाउन बाँकी छ । चालु आर्थिक वर्षमा पुल योजनाका लागि १८ करोड मात्रै बजेट आएको छ । पुल निमार्ण कम्पनीले चालु आर्थिक वर्षमा मात्रै २० करोडको काम गरेको छ । काम गरे वाफतको २८ करोड रकम भुक्तानी नपाएपछि निमार्ण कम्पनीले पुल योजना कार्यालयलाई पत्र पठाउँदै बुधबारदेखि काम बन्द गरेको हो।
महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले मुख्य तीनवटा कारणले पुल निमार्णको काम बन्द गर्नुपरेको बताए। ‘पोखरीको गाइडबन्डको फाइनल स्वीकृत डिजाइन अहिलेसम्म आएको छैन दोस्रो फाइनल डिजाइन नआउँदा भेरिफिकेसन भएन ,’ उनले भने , ‘मुख्य कारण हामीले काम गरेको २८ करोड रकम हामीलाई भुक्तानी हुन सकेको छैन ।’
पुल निमार्ण कम्पनीलाई गत वर्षको मात्रै ८ करोड रकम भुक्तानी हुन नसकेको हो । सरकारबाट काम गरेको पैसा नपाउँदा मेसिन चलाउन तेल किन्न समेत निमार्ण कम्पनीसँग पैसा नहुँदा बाध्य भएर काम रोक्नु परेको उनले बताए ।