१४ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ मा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसन्धान अधिकृतहरुका अनुसार, स्वर्णकार स्कुलका एक जना पूर्वशिक्षिकासँग प्रेम सम्बन्धमा थिए ।
सम्बन्धमा खटपट आएपछि उनी समेतको संलग्नतामा स्वर्णकारको गोली हानी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ती पूर्वशिक्षिकलाई पक्राउ गरेको छ ।
स्वर्णकारका श्रीमती, एक छोरा र एक छोरी छन् । पूर्वशिक्षिका पछिल्लो समय अर्कै व्यक्तिसँग प्रेम सम्बन्धमा थिइन् ।
त्यसपछि सिर्जना भएको परिस्थितिका बीच स्वर्णकारको हत्या योजना बनेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले स्वर्णकारको हत्या पछाडि प्रेम सम्बन्ध कारक रहेको अनलाइनखबरलाई बताए ।
‘हालसम्म प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ, उनीहरु सबैको संलग्नताबारे अनुसन्धान भइरहेको छ’, उनले भने, ‘स्क्रिनिङपछि संलग्न देखिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय, बाराले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छ ।