काठमाडौं, २१ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज चीन भ्रमणमा जाँदैछन् ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहित १५ नेताको टोली चीन भ्रमणमा जान लागेका हुन् । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले देश शोकमा रहेको बेला चीन भ्रमणमा जान लागेको भन्दै पूर्वप्रधानमन्त्री नेपालको चौतर्फी आलोचना भइरहेको छ ।
जाजरकोट भूकम्पले देश शोकमा रहेको बेला पूर्वप्रधानमन्त्री नेपाल विदेश भ्रमणमा जान नहुने जानकारहरू बताउँछन् ।
भूकम्पका कारण राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । देश शोकमा रहेको बेला राष्ट्र प्रमुख विदेश भ्रमणमा जान नहुने भन्दै आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
राष्ट्रपति पौडेल आफ्नो विदेश भ्रमण स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट जादैँछन् ।